भूमि विधेयक फिर्ता लिनुपर्ने अडानबाट पार्टी पछाडि हट्दैनः पूर्ण बस्नेत


काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिनुपर्ने अडानबाट पार्टी पछाडि नहट्ने बताएका छन् । बस्नेतले तराई मधेशलाई मरुभूमिकरण गर्न ल्याइएको विधेयक फिर्ता लिनुपर्ने भन्दै पार्टी आफ्नो पूर्ववत् अडानबाट पछाडि नहट्ने दाबी गरेका हुन् ।

बस्नेतले भने, ‘वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र वातावरणको संरक्षण गर्न तथा जल, जंगल र भूमिको रक्षा गर्न पार्टी प्रतिबद्ध छ । मुलुक र जनताको हित विपरित रहेको उक्त भूमि विधेयकका विरुद्ध पार्टी देशव्यापी आन्दोलनमा छ । आन्दोलन निरन्तर जारी रहन्छ ।’

पार्टीले भूमि विधेयकमा उठाएका प्रश्नको उचित सम्बोधन नभई विधेयक पारित गर्ने कुरा सरकारले नसोचेपनि हुने उनको भनाइ छ । भूमि विधेयक पारित गर्न सरकारले निरङ्कुश रवैया देखाए पार्टी कडा प्रतिकारमा उत्रने उनको भनाइ छ ।

पार्टीले भूमि विधेयकको विरुद्धमा गरिरहेको देशव्यापी प्रदर्शनमा सक्रिय सहभागी हुन सम्पूर्ण जनसमुदायहरुमा बस्नेतले अपिलसमेत गरेका छन् । जसपा नेपालले देशका विभिन्न ठाउँहरुमा भूमि विधेयकको विरुद्धमा प्रदर्शन गरिरहेको छ ।