प्रचण्डले सम्झिए जनुमक्ति सेना र वाईसीएल, अहिले राप-ताप हराएको स्वीकारोक्ति


काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौताको बेलाको माओवादीको राप र ताप अहिले हराएको बताएका छन् । त्यो बेला प्रचण्ड भन्नेबित्तिकै मान्छेहरुको बुझाइ र अहिलेको बुझाइ फरक रहेको उनले बताए । ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले त्यो बेलामा आफूहरुसँग वाईसीएल, जनमुक्ति सेना, बन्दुक सबै चिज भएको स्मरण गरे । उनले चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाको गाडी अगाडि पछाडि लगाएर गएको समेत स्मरण गरे । अहिले त्यो बेलाको जस्तो प्रचण्डको राप र ताप हराएको उनको स्वीकारोक्ति थियो ।

‘शान्ति सम्झौतामा आउँदा आन्दोलन थियो, रापताप थियो । वाईसीएल थियो, सेना थियो, बन्दुक थियो । क्यान्टोनमेन्टभित्र भए पनि बन्दुक नै थियो नि । हामीसँगै थियो नि । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुईवटा गाडी अगाडि पछाडि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त । अहिले त छैन,’– उनले भने ।

उनले जनताको तागत पैदा गर्न सकिएन भने अधिकार नपाइने बताए । त्यस्तो अवस्थामा पाएको अधिकार पनि खोसिँदै जाने उनले बताए । एक पटक फेरि त्याग, तपस्या र आन्दोलन गर्ने तयारीको गर्नुको विकल्प नरहेको उनले बताए ।