भूमि विधेयकको विरोधमा जसपा नेपालद्वारा मसाल जुलुस प्रदर्शन, प्रदर्शनकारी गिरफ्तार


काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकको विरोधमा मसाल जुलुस निकालेको छ । शनिबार बल्खु चोकबाट झण्डा र ब्यानरसहित निकालिएको विरोध र्याली किर्तीपुरको नयाँबजार पुगेपछि आन्दोलनकारीले भूमि विधेयकको विरोधमा मसाल जुलुस निकालेको पार्टीका केन्द्रीय सदस्य सन्तोष सिलवालले जानकारी दिए । सो क्रममा उनीहरुले भूमि विधेयकको मस्यौदासमेत जलाएका थिए ।

केन्द्रीय सदस्य सिलवालका अनुसार भूमि विधेयकको विरोधमा नारा जुलुस गर्ने क्रममा पार्टीनिकट समाजवादी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनीस यादव तथा केन्द्रीय सदस्यद्वय विनय यादव र सुभास यादवलाई प्रहरीले किर्तीपुरको नयाँ बजारबाट गिरफ्तार गरेको छ ।

आन्दोलनकारीले र्याली पश्चात नयाँ बजारमा कोणसभा समेत गरेका थिए । कोणसभालाई पार्टीका सचिव लिला सिटौला, केन्द्रीय सदस्य रामबहादुर जाग्री, विणा सिन्हा तथा नेवाः राष्ट्रिय समितिका अध्यक्ष राकेश श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।