देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको छः अध्यक्ष यादव


काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बन्दै गएको बताएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधारका साथै गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको सकारात्मक भूमिका जरुरी रहेको बताए ।

अध्यक्ष यादवले चुरे विनाशका कारण विगतदेखि नै मुलुकको कृषि क्षेत्र सङ्कटमा पर्दै गए पनि हाल भूमि अध्यादेशको नाउँमा थप समस्या निम्तिने जोखिम बढेको दाबी गरे ।

जसपा महासचिव एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले भूमिसम्बन्धी अध्यादेश तराई मधेसका लागि ठीक नभएको भन्दै यसले मधेसमा जनसङ्ख्याको चापमा वृद्धि हुने दाबी गरे ।

मधेस प्रदेशका आठ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक गरी २५० जना स्वास्थ्यकर्मी सहभागी रहेको अधिवेशन भोलि सम्पन्न हुनेछ ।