काठमाडौं, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने बताएका छन् । आज (शनिबार) गोदावरी नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले भने,”अध्यक्ष ओलीको विकल्प छैन । संसदमा दोस्रो ठूलो पार्टी भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो ।”
उनले ७० वर्षे उमेर सीमा हटाइएको अध्यक्ष ओलीका लागि मात्र नभएको तर नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणकै कारण उनी राष्ट्रको निर्विकल्प रहेको दोहोर्याए । उनले भने–”संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान छ । पूर्व राष्ट्रपति सम्मानित र मर्यादित रहनु आवश्यक छ । पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कसर बाँकी राखेको छैन ।”
भारतले लगाएको नाकाबन्दीको अध्यक्ष ओलीकै नेतृत्वमा डटेर सामना गरिएको पनि उनले स्मरण गराए । पोखरेलले भने–”कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा बदल्ने सामथ्र्य ओलीबाहेक कसैमा छैन । ढिलोचाँडो छिमेकीले पनि यस विषयमा सुन्नै पर्छ ।”
उनले एमाले पटक–पटक विभाजित भए पनि पुनः संगठित हुने क्षमता राख्ने पार्टी भएको स्पष्ट गरे । उनले भने,”दूरदर्शी नेतृत्व अध्यक्ष ओलीमै छ, एमाले बलियो राजनीतिक शक्ति बनेको छ र अब पार्टी ‘मिसन– २०८४’ सफल पार्दै अघि बढ्छ ।”




प्रतिक्रिया