काठमाडौं, १५ भदौ । मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपाली कांग्रेसमा शेरबहादुर देउवापछि डा. आरजु राणा सभापति बन्ने ठोकुवा गरेका छन् । उनले भने,‘नेपाली कांग्रेसमा शेरबहादुर देउवापछि आरजु सभापति बन्नुहुन्छ, यो लेखेर राख्दा हुन्छ ।’
हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अहिले चर्चामा रहेका नेताहरु गगन थापा, शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला सबै पानीका लौरा भएको टिप्पणी गरे । उनले ०८४ को निर्वाचनपछि आरजु राणा नै प्रधानमन्त्रीपनि बन्ने दाबी गरे ।
प्रसाईंले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार छिट्टै ढल्ने भयो भने देउवालाई सत्ताको चाबी जिम्मा लगाएर र गृह मन्त्रालय एमालेले लिएर चुनावमा जाने पनि भविष्यवाणी गरे । देउवाले आफू प्रधानमन्त्री हुनेबित्तिकै आरजुलाई कामु सभापति बनाउने पनि बताए । उनले भने,‘अब शेरबहादुर देउवा आँफै पार्टी सभापति भएको बेलामा साम, दाम, दण्ड, भेद सबै लगाएर एकपटकको लागि पार्टी सभापति बनाउँछन्, ०८४ पछिको महिला प्रधानमन्त्री भनेको उही हो, उनी पार्टी सभापति र प्रधानमन्त्री भईनन् भने जेलको बास हो नि ।’ उनले आफूले शेरबहादुर देउवा र शेखर कोइरालामध्ये एक जना रोज्नुपरे देउवालाई नै रोज्ने बताए । उनले शेखरबाट कांग्रेस पार्टी चल्न नसक्ने ठोकुवा गरे ।
उनले पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई मान्छेको भाँडो नभएको टिप्पणी गरेका छन् । दुवै नेताभन्दा गायिका ज्योति मगरको विश्लेषण स्टाण्डर्ड रहेको उनको दाबी छ । उनले आफूले माधव नेपालसँग कहिल्यैपनि नभेटेको जिकिर गरे । उनले बाबुराम र माधव नेपाल दुवैको पार्टीको हालत खराब रहेको बताए ।




प्रतिक्रिया