रूपन्देही-३ मा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन


काठमाडौं, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काअध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न निर्देशन दिएका छन् । पार्टी लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

‘पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस–एमालेका नेताहरुले मलाई भेट्दा यो परिर्वतन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ । मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु । त्यसैले कमरेडहरु माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भुमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचार प्रसार त हामीले गर्नुपर्यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो, तपाईहरु त्यसको तयारी गर्नुहोस्,’– प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरुप भएको बताए । उनले भने, ‘असन्तुष्टि जहाँ गयो त्यही हुन्छ । विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ।’

उनले माओत्से तुङ, ल्यू साओची र लिनप्याओबीचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै विश्वासघात र नेतृत्वप्रतिको आस्था परीक्षणको दिष्टान्त पार्टीका नेताकार्यकर्तासमक्ष राखे ।

अध्यक्ष प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै जनयुद्ध र परिर्वतनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।

‘देशभरका वडाहरुबाट जनयुद्ध र जनआन्दोलनमा सहभागी, सहिद, घाइते र जेलनेल भोगेका जुनसुकै पक्षका व्यक्तिको विवरण तथ्याङ्क संकलन गरेर केन्द्रमा पठाउनुपर्छ,’ उनले भने ।

प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट डराएका प्रतिक्रियावादी र विचौलिया समूहहरु माओवादी आन्दोलनविद्ध जोसुकै लागेको भएपनि विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने विश्वास व्यक्त गरे ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी आन्दोलनबारे समीक्षा, संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र पार्टीको भविष्यका योजनाहरु राखे । बैठकमा प्रचण्डले समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे धारणा राखेका छन् । परिवर्तनको जग माओवादीले राखेको र त्यसको रक्षा गर्ने शक्ति पनि माओवादी नै भएको उनको भनाइ छ ।