प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने


काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओं) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नेछन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा.मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।