काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरूङले लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धको विषय भएको टिप्पणी गरेका छन् । सन् २०१५ मा भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा नै नेपालको लिपुलेक उल्लेख भएको र त्यही बेलादेखि नेपालले कुटनीतिक नोट पठाएर विरोध गरेको पनि गुरुङले स्मरण गराए ।
आज (सोमबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । लिपुलेक पास हुँदै व्यापारिक नाका खोल्ने विषयमा भारत र चीनबीच भएको सहमतिको नेपालबाट विरोध हुँदै आईराखेको उनले स्मरण गराए । हालै भारत र चीनका परराष्ट्रमन्त्रीबीचको भेटवार्तापछि जारी वक्तव्यमा नेपाली भूमि लिपुलेक पास हुँदै व्यापारिक नाका सञ्चालन गरिने भनेर भएको सहमतिमा नेपालको आपत्ति हुनुपर्ने बताए । यो समस्याको हलको लागि कुटनीतिक भूमिका निर्वाह गरिनुपर्ने उनको मत छ ।
उनले यो विषय मुख्यतय भारतसँग जोडिएका विषय भएको उल्लेख गरे । उनले भने,‘यसमा मुख्यतय भारत र नेपालबीचको विवाद हो । पछिल्लो समय जति कुटनीतिक पहल हुनुपर्ने हो त्यति भएको छैन । सांघाई सहयोग संगठनको सम्मेलनको क्रममा नेपालका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग यो विषय उठाएको कुरा नेपाल पक्षले बाहिर ल्याएको छ। चिनियाँ पक्ष यसमा मौन देखिन्छ । भारत र नेपालबीचको विवाद सम्बन्धमा चीन सहभागी हुन चाहँदैन । चीन अलग रहन चाहन्छ भन्ने उसको लगातार सन्देश देखिन्छ ।’




प्रतिक्रिया