तनहुँ, १६ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपांगता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ ।
यस क्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतवार व्यास नगरपालिका-११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सविना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गरे।
विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगरेकी सविनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
सविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा तयार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, “ छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, सविना अपांगता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौँ । यस्ता कार्यले सरकारप्रतिको भरोसा र सकारात्मक धारणा थप अभिवृद्धि भएर जाने छ । ”
यसअघि प्रजिअ अधिकारीले गत साउन ६ गते म्याग्दे गाउँपालिका–१ गुणादी निवासी फरक क्षमता भएकी २० वर्षीया नविना खनाललाई उनको निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । रासस




प्रतिक्रिया