धवलशमशेरलाई समितिको कार्यवाहक संयोजक जिम्मा लगाएर नवराज सुवेदी विदेश उडे


काठमाडौं, १६ भदौ । राजा फर्काउनको लागि गठन भएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले समितिको कार्यवाहक संयोजकको जिम्मा राप्रपाका महामन्त्री धवलशमशेर जबरालाई सुम्पिएका छन् । उनी केही समय विदेश भ्रमणमा रहने भएकोले सो जिम्मा राणालाई दिईएको हो । पछिल्लो समय नवराजको सक्रियता खस्किएको छ ।

अहिले राणा राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेनविरुद्ध उभिएका छन् । सुवेदीले विदेश उड्नुअघि समितिको कार्यवाहक संयोजकको जिम्मा राणालाई हस्तान्तरण गरेको वक्तव्य जारी गरेका छन् । अहिले राजावादी आन्दोलन तितरवितर भएको छ । राजावादीहरुले चाडपर्व सकिएपछि आन्दोलन गर्ने तयारी गरेको चर्चा छ ।

तर, सबै राजावादीहरुबीच अहिले एकता छैन । दुर्गा प्रसाईंले अब राजा नबोक्ने घोषणा गरिसकेका छन् । उनले आफू अब कहिल्यैपनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नजाने भनेर पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नै घोषणा गरिदिएका छन् ।