नेपालको पर्यटनमा लगानी गर्न दुबईका व्यवसायीलाई पत्रकार ऋषि धमलाको आग्रह


काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई नेपाली नागरिकहरुले भरिएको शहर हो । जहाँ नेपाली नागरिकले शान मानको व्यापारदेखि कामदारको पनि भूमिका निभाउँदै आएका छन् । दुबईका व्यापार–व्यवसायबाट चम्केका नेपाली व्यवसायीले नेपाली उत्पादन युएई पुर्याउनेमात्र नभइ नेपालमा लगानी बढाउने तयारी पनि थालेका छन् ।

प्राइम टेलिभिजन एचडीका अध्यक्ष एवं चर्चित पत्रकार ऋषि धमलालाई दुबईमा स्वागत गर्दै व्यवसायी केन्द्रबहादुर थापाले नेपालको विकासमा विदेशिएका नेपाली चिन्तित रहेको बताए । दुई दशक बढी समयदेखि दुबईमा नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी व्यवसाय सञ्चालन गरेर बसेका व्यवसायी थापाले नेपालको पर्यटन र कृषिको विकास आफुहरुको पहिलो प्राथमिकता रहेको बताए ।

उनले नेपालमा फलेका सबै तरकारी पाइने दुबईको २ सय बढी आउटलेट भएको लुरु सुपरमार्केट कालीमाटी तरकारी बजार दुबई संस्करण भएको बताए । दुबईका व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको समेत बताए ।

स्वागत ग्रहण गर्दै प्राइम टेलिभिजनका अध्यक्ष एवं चर्चित पत्रकार ऋषि धमलाले दुबईमा बसेका नेपालीले गरेको उन्नति र प्रगति लोभलाग्दो रहेको बताए । उनले पर्यटन नै मुलुकको विकासको प्रमुख आधार भएकोले नेपालको पर्यटनमा लगानी बढाउन दुबईका व्यवसायीहरुलाई आग्रह पनि गरे ।

यस्तै, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसीका प्रबन्ध निर्देशक एनके अर्यालले दुबईका नेपालीले यहाँ गरेको प्रगतिको फल नेपाल पनि लान चाहेको बताए । कार्यक्रममा नमस्ते ट्राभल एण्ड टुरिजमका अध्यक्ष थापाले दुबईमा रहेको नेपालीले गरेको प्रगति र नेपाली उत्पादनको दुबईमा विक्री वितरणबारेमा अध्यक्ष धमलालाई जानकारी गराएका थिए । सोमबार विहान दुबई पुगेका धमला र प्राइम टिभीका पत्रकार जनक पण्डित दुबईको विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।