एनआरएनए महासचिव पदमा उम्मेद्वारी दिने पारसमणि पोखरेलको घोषणा, संघलाई साझा मञ्च बनाउने प्रतिबद्धता


काठमाडौं, १७ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२५–२०२७ कार्यकालको लागि हालका सचिव पारसमणि पोखरेलले महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत पोखरेलले ‘परिवर्तनको लागि पारस’ स्लोगन दिएर महासचिव पदमा उम्मेद्वारी दिने तयारीमा रहेको जानकारी गराएका हुन् । उनले आफू सबै पक्षलाई मिलाएर जानेमा ढुक्क रहेको भन्दै यसअघि अमेरिका र क्यानडाको भ्रमण गरेको भन्दै अब छिट्टै मलेसिया र मिडल इस्टको भ्रमणमा निस्किने पनि जानकारी दिएका छन् ।

एनआरएनएलाई विश्वभरका नेपालीहरूको साझा मञ्च बनाउने उनको घोषणा छ । साथै, पारदर्शी, जिम्मेवार र प्रभावकारी संस्थामार्फत प्रवासी नेपाली र मातृभूमि नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेपनि उनको भनाई छ । उनले संघको नेतृत्व तहमा न्यूनतम ३० प्रतिशत युवा तथा महिला सहभागिता सुनिश्चित् गर्नेपनि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संघलाई डिजिटलमैत्री बनाउने भन्दै अनलाइन सदस्यता, डिजिटल मतदान र ई–गभर्नेन्स प्रणाली लागु गर्ने पनि घोषणा गरेका छन् ।

पोखरेलले एनआरएनएलाई कुनै दलविशेष नभएर सम्पूर्ण प्रवासी नेपालीको साझा संस्था बनाउने, विधान र नीतिहरूलाई समयानुकूल संशोधन गरी आधुनिक संगठनात्मक संरचना बनाउने, साथै सम्मेलन, सेमिनार र परियोजनालाई परिणाममुखी बनाउने बताएका छन् । उनले अघि सारेका प्राथमिकत कामहरुमा प्रवासी सीप र ज्ञानलाई मातृभूमिसँग जोड्ने, विदेशमा नेपालीको अधिकार र सुरक्षा, कानुनी सहयोग, विमा र आकस्मिक सहयोग कोषलाई मजबुत बनाउने, लगानी र उद्यमशीलता, गैरआवासीय नागरिकताको हक र अधिकार दिलाउनेलायत रहेका छन् । उनले अघि सारेको नारा भने “सशक्त प्रवासी, सम्पन्न नेपाल — परिवर्तन अनि परिस्कृत एनआरएनए” राखिएको छ ।