एमाले सचिवालय बैठक आज, उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीको फरक मतमाथि छलफल हुने


काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक हुँदैछ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ बजेका लागि निर्धारित बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ । आजको सचिवालय बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतमा पनि छलफल हुने महासचिव शंकर पोखरेलले बताए । पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णयविरुद्ध उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले फरक मत राखेका थिए ।