सरकार उल्टो बाटो हिँडेको गगन थापाको आरोप, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पूनर्विचार गर्न माग


काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको भन्दै सरकारलाई पुनर्विचारको लागि आग्रह गरेका छन् । उनले सरकार उल्टो बाटोमा हिँडेको पनि आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको पनि स्मरण गराएका छन् । तर, यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने नभएर आवश्यक कानुन छिटो बनाउनुपर्ने पनि थापाले सम्झाएका छन् ।

सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन रहेको स्मरण गराउँदै त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गर्नुपर्ने पनि थापाको मत छ । उनले लेखेका छन्,‘आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ। सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ। सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ।’

उनले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन सरकारलाई आग्रह गरेका छन् ।