०८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउँछ, चुनावमा धाँधली हुन दिँदैनौं : प्रधानमन्त्री ओली


काठमाडौं, २० भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को आम चुनावमा एकल बहुमत ल्याउने दाबी गरेका छन् । आजबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमालेले एकल बहुमत ल्याउने दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ०८४ को निर्वाचनमा धाँधली हुन नदिनेपनि बताए । कांग्रेस र एमालेजस्ता बलियो शक्तिहरु नै सरकारको नेतृत्वमा भएकोले अबको निर्वाचनमा कसैलेपनि धाँधली गर्न नसक्ने दाबी गरेका हुन् । उनले पार्टी पँक्तिलाई पार्टीको एकल बहुमत आउनेगरि जनताको बीचमा काम गर्न निर्देशन दिए ।

उनले भने,‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका कमिटी र कार्यकर्ताहरू परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन। हामी बहुमत ल्याउन सक्छौँ।’

सुरुवातमा प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) ले ३२ नम्बरको जादु छ भन्दै आफूहरुलाई राजनीतिको किनारामा राख्न खोजेको भएपनि १४ महिनाअघि त्यो जादुबाट माओवादीलाई मुक्त गराईदिएको टिप्पणी गरे ।

यस्तै, चीन भ्रमणको क्रममा लिपुलेकबारे चिनियाँ राष्ट्रपतिसँगको कुरा रेकर्डमा रहेको पनि बताए । चीन भ्रमणमा आफूले राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक कुरा राखेको स्मरण गराउँदै भने,‘यसपल्ट म चीन जाँदा पनि चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा मैले अरु कुरासँगै लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु, यो कुरा रेकर्डेड छ । अडियोमा छ, भिडियोमा छ, नोट, टिपोटहरूमा छ ।’

तस्विर : प्रम ओलीको सचिवालय