काठमाडौं, २० भदौ । पत्रकार, अधिवक्ता तथा सामाजिक अभियन्ताले सूचिकृत नहुने सोसल मिडिया बन्द गर्ने सरकारको निर्णयमा पूनर्विचारको माग गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले सोसल मिडिया बन्द गरेर रमाउनेहरु कोहीपनि सफल नहुने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले सोसल मिडिया कुनैपनि हालतमा बन्द गर्न नहुने आवाज उठाए । उनले सरकार र वर्तमान सत्ता गठबन्धनका नेताहरुलाई सामाजिक सञ्जाल बन्द गरिनु भनेको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै यो निर्णय सच्याउन माग गरे । उनले रातारात सोसल मिडिया बन्द गर्न नपाउने जिकिर गरे ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सोसल मिडिया प्लेटफर्मलाई नियमन गरिनुपर्ने बन्द गरिनु संविधान कुल्चिने काम गरेको भन्दै विरोध जनाए । उनले भने,‘सोसल मिडिया प्लेटफर्महरु सरकारले रेगुलेट होईन, सटडाउन गरेको छ । यो कदम संविधानविरोधी हो ।’ संविधानको धारा १९ (२) मा कुनै प्रतिवन्ध र पूर्व प्रतिवन्ध लाग्न नसक्ने भनिएको उनले स्पष्ट पारे । उनले यो विषयमा रिट निवेदन दर्ताको लागि प्रक्रियामा गएको पनि सुनाए । त्रिपाठीले सरकारको यो कदम लोकतन्त्रको लागि पनि स्विकार्य नभएकोले सबैले विरोध गर्नुपर्ने आवाज उठाए ।
अर्का अधिवक्ता विष्णु भट्टराईले विचारलाई विधानले नरोक्ने भन्दै सोसल मिडिया बन्द गर्ने भनेर सरकारले गरेको निषेधको कदम स्विकार्य नभएको चेतावनी दिए । विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने सरकारको । अक्षम्य अपराध हो ।

अधिवक्ता यज्ञमणि न्यौपानेले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनेर हिजो गरेको निर्णय गलत रहेको बताए । किन बन्द गरेको हो भन्ने कुरा सरकारसँग उत्तर नभएको उनको टिप्पणी छ । उनले अदालतले त डिजिटल प्लेटफर्म नियमन गर भनेको पनि स्मरण गराए । उनले फेशबुक र युट्युब नेपालका पूराना र शक्तिमा रहेका राजनीतिक दलहरुको लागि सबभन्दा पीडाको विषय बनेकोले अहिले बन्द गरिदिएको र यसलाई उनले तिगडमको संज्ञा दिए ।

साईबर सुरक्षा र मिडियासम्बन्धी जानकार तथा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी अधिकारीले पनि आफ्नो धारणा राखेका थिए । सरकारले सोसल मिडिया बन्द गर्न लिएको कदमको विरोध गरे । उनले सामाग्री उत्पादनमा नियमन गर्नको लागि सरकारलाई सुझाव दिए । अहिले सूचनाको आदानप्रदान गर्ने माध्यम सोसल मिडिया बनेको पनि उनले बताए ।
अहिले नेपालमा सूचना तथा प्रविधिबाट समृद्धि ल्याउनेगरि युवाले काम गरेकोमा अहिले बाधा सिर्जना गरिएको उनको गुनासो छ । उनले सरकारले टेक्नोलोजी डिप्लोमेसी प्रयोग गर्नुपर्नेमा त्यसो नगरिकन निर्देशन दिएर बन्द गरिनु गलत भएको उनको टिप्पणी छ ।

अनलाईन पत्रकार संघका वरिष्ठ उपाध्यक्ष संजिव रेग्मीले सोसल मिडिया बन्द गर्ने निर्णय गरेकोमा विरोध जनाए । अदालतले कतैपनि सोसल मिडिया बन्द गर्न भनेर नभनेको बरु नियमन गर्न भनेको पनि उनको भनाई छ । उनले आफूहरु पनि नियमनको पक्षमा रहेको स्पष्ट पारे ।




प्रतिक्रिया