प्रभु साहले मागे प्रधानमन्त्रीको राजीनामा, ‘सरकार नागरिक हत्या–आतंकमा उत्रिनु दुःखद् हो’


काठमाडौं, २३ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन भनेका छन् । जेन–जी पुस्ताको आजको प्रदर्शनमा कलिला युवाहरुमाथि बर्बरतापूर्वक नरसंहार मच्चाएको भन्दै साहले तत्काल राजीनामा दिन माग गरेका हुन् ।

उनले प्रधानमन्त्री ओलीलाई आजको नरसंहारको जिम्मा लिनपनि आग्रह गरेका छन् । उनले लेखेका छन्–‘आज सेप्टेम्बर–८ मा भएको ‘जेन–जी’ पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा नेपाल सरकारको तर्फबाट गोली लागेर दर्जनौं प्रदर्शनकारीको मृत्यु र सयौंको संख्यामा घाईते भएको खबरले मर्माहत भएको छु । कलिला उमेरका युवाहरूको यो बर्बरतापुर्ण नरसंहारले लोकतन्त्र र कानुनी शासनको उपहासमात्र नभई मानवताकै हत्या भएको छ । अहिलेको २१औं शताब्दीमा शान्ति, सु–व्यवस्था कायम गर्नु/गराउनुको साटो केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार उल्टै आफ्नो नागरिकको हत्या–आतंकमा उत्रिनु दुःखद हो । प्रधानमन्त्रीले यो नरसंहारको जिम्मा लिई देशमा शान्ति, अमनचयन, सुशासन र स्थिरता कायम गर्न गराउनको लागि पनि तत्काल राजीनामा गर्न जोड़दार माग गर्दछु । साथै, मृत्युवरण गरेका महान युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना तथा शोक–सन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’