जेन-जी आन्दोलनः सिभिल अस्पतालमा १३५ घाइतेको उपचार जारी


काठमाडौँ, २३ भदौ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेन-जी प्रदर्शनमा घाइते भएका १३५ जनाभन्दा बढीको उपचार जारी रहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा ३ जनाको निधन भएको र थप घाइते आउने क्रम जारी छ । ‘प्रदर्शनकारी र प्रहरीबीचको झपडमा अहिले पनि अस्पतालसम्म अश्रुग्यास आइरहेको छ,’ उनले भने, ‘घाइते अझ कति हुने हुन् थाहा छैन । हामीले आकस्मिक कक्षमा अस्पतालको पूरै जनशक्ति लगाएर उपचार गरिरहेका छौँ ।’

अपराह्न १२ बजेदेखि आकस्मिक उपचार कक्षमा घाइतेहरु उपचारका लागि आउन थालेको उनले बताए । अस्पतालमा उपचार हुन नसकेका १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको उनले जानकारी दिनुभयो । प्रदर्शनकारीले नयाँ बानेश्वर केन्द्रित प्रदर्शन गरेपछि अस्पताल नजिक भएकाले घाइतेहरु उपचारका लागि धेरै सङ्ख्यामा आएको अस्पतालले जनाएको छ ।