आजको घट्नाको सबै जिम्मा प्रधानमन्त्री ओलीले लिनुपर्ने गगन थापाको टिप्पणी, गठबन्धनको सरकार रहिराख्नुको आवश्कता नभएको निश्कर्ष


काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजको घट्नाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । आज युवा पुस्ता (जेन-जी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा अवाञ्छित र हिंसात्मक गतिविधि हुनु दुःखद् र अस्वभाविक रहेको थापाको टिप्पणी छ ।

उनले आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य भनेका छन् । कुनैपनि कोणबाट सरकारको यो शैली जायज हुन नसक्ने थापाको दाबी छ । सरकारको असंवेदनशीलताकै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनुपरेको हृदय विदारक घट्नाले आफूलाई स्तब्ध बनाएको पनि उनको भनाई छ ।

उनले आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीले राजीनामा दिएको उल्लेख गर्दै यो समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने पनि भनेका छन् ।

जनतालाई सुशासनको प्रत्याभूति दिनेगरि दुई ठूला दल मिलेर बनाएको कांग्रेस र एमालेको सरकारले त्यो गर्न नसकेको कारण अब यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता नरहेको पनि थापाको निश्कर्ष छ । उनले एमालेसँगको सहकार्यको विषयमा कांग्रेसले पुनर्विचार गर्नुपर्ने मत राखेका छन् ।