आन्दोलनको नाममा हुने प्रदर्शन, तोडफोड र आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई कडा कारवाही हुने सेनाको चेतावनी


काठमाडौं, २५ भदौ । नेपाली सेनाले आज बेलुकी ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने बताएका छन् । सेनाले विज्ञप्ति जारी गर्दै बेलुकी ५ बजेपछि भने २६ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने र परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने बताएको छ ।

निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्ने बताइएको छ । आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको बताउँदै नेपाली सेनाले आन्दोलनको नाममा हुने प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुने बताएको छ ।

साथै, सेनाले अवकाश प्राप्त सैनिकलगायतका सुरक्षाकर्मीहरु, राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडि नलागी आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न अनुरोध गरेको छ । जेन–जी पुस्ताले गरेको आन्दोलन उग्र बन्दै गएपछि परिस्थिति नियन्त्रणमा लिन नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको छ ।