संविधानको धारा ७६ बमोजिम सरकार बनाउने कि बाधा अड्काउ फुकाउतर्फ अगाडि बढ्ने भन्ने निर्णय गर्ने तागत जेन–जी, सेना र राष्ट्रपतिसँग छः अधिवक्ता न्यौपाने


काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले अबको निकास संविधानको धारा ७६ बमोजिम सरकार बनाउने कि बाधा अड्काउ फुकाउतर्फ अगाडि बढ्ने भन्ने निर्णय गर्ने सामर्थ्य जेन–जी, नेपाली सेना र राष्ट्रपतिमा रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जी, सेना र राष्ट्रपतिबीचको बैठकले जे निर्णय गरेर अगाडि ल्याउँछ, त्यसैलाई नै मानेर अगाडि बढ्न सकिने बताए ।

‘संविधानको धारा ७६ तर्फ अगाडि बढ्ने कि, बाधा अड्काउ फुकाउतर्फ अगाडि बढ्ने कि भन्ने कुरा निर्णय गर्ने मसँग तागत र सामर्थ्य छैन । यो तागत र सामर्थ्य कोसँग छ ? जेन–जी जसले नेतृत्व गरिराख्नुभएको छ । नेपाली सेना जसले अहिले वार्ता गराइराखेको छ र राष्ट्रपति । यो तीन लेयरको बैठकले जे निर्णय हामी नागरिकसामू ल्याउँछ नि त्यसले वैधता प्राप्त गर्छ,’– उनले भने ।

जेन–जी पुस्ताको बटम लाइन नागरिक सरकार रहेको उनले बताए । सैनिक शासन भने लागू हुन नहुने र नागरिकले नै शासन गर्न पाउनुपर्ने उनको भनाइ छ । उनले नेपालले कुनै पनि विदेशी शक्ति गुहार्न नहुने र अन्तर्राष्ट्रिय तत्वहरुलाई प्रवेश दिन नहुने बताए ।

‘अरु विकल्पहरु नहुँदाखेरी संसारमा सेनाले टेकओभर गरेका विषयहरु त छन् । विस्तारै लालचीपन बढ्दैजाने, सेनाले नागरिकलाई जिम्मा नलगाउने, फेरि नागरिकले युद्ध गर्नुपर्ने हुन्छ । शासन गर्न त नागरिकलाई दिनुस्,’– उनले भने ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनेबित्तिकै नेपाली सेनाले सक्रियता नदेखाउँदा थप क्षति भएको उनले बताए । उनले भने,‘प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै नेपाली सेनाले केही न केही सक्रियता देखाइदिएको भए थप क्षति कम हुन्थ्यो कि ? त्यो सक्रियताको लेबल मैले बन्दुकको रुपमा भनिनँ, शोषणको रुपमा मैले भनिनँ । केही न केही ढिला भएर हामीले यत्रो ठूलो धनको क्षति ब्यहोर्यौं ।’