जेन-जी प्रदर्शनको क्रममा सुरक्षा निकायको भूमिकामाथि एमालेले उठायो प्रश्न, अबको निकास संविधानबाटै खोजिनुपर्ने


काठमाडौं, २६ भदौ । नेकपा (एमाले) सचिवालयले जेन–जी आन्दोलनको क्रममा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको छ । आज (बिहीबार) आफ्नो धारणा सार्वजनिक गर्दै एमालेले ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू प्रभावकारी हुन नसकेको विषयमा समीक्षा हुनुपर्ने बताएको हो ।

एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यति ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा पनि समीक्षा हुनुपर्छ ।’

आयोजकहरूबाट प्रदर्शन शान्तिपूर्ण रहने पूर्व घोषणा भएको र घटनापछि पनि आगजनी, लुटपाट र तोडफोडजस्ता यस्ता घटनाहरूमा आफूहरूको कुनै सङ्लग्नता नरहेको जानकारी दिइएको एमालेको भनाइ छ । आयोजकहरूले योजनाविपरीत विध्वंसात्मक र विनाशकारी घटना घटाइएको बारेमा यथार्थ छानबिन हुनुपर्ने एमालेको माग छ । विध्वंश घटनाका योजनाकार र दोषीहरूलाई कानुनी दायरामा ल्याइनुपर्ने एमालेको माग छ ।

साथै, अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने एमालेको मत छ । त्यसका लागि संविधानको मर्मअनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन एमालेले राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।

असामान्य स्थितिको लाभ उठाउँदै अझै पनि देशका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोडका घटना भइरहेको भन्दै सचेत रहन एमालेले आग्रह गरेको छ । File Photo/RN