काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जेन–जी पुस्ताले उठाएका मागको सम्बोधन वर्तमान संविधान र संसद्बाटै गर्न सकिने बताएका छन् । पूर्व प्रधानमन्त्री नेपालले भ्रष्ट नेताहरूलाई कारवाही गर्ने र उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्नुपर्ने जेन–जीले उठाएको आवाज एकीकृत समाजवादीले पहिलादेखि नै राख्दै आएको बताएका छन् । ‘संविधान संशोधन गरेर जेन–जीले भनेजस्तो बनाउन सकिन्छ । छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जान सकिन्छ र ताजा जनादेश लिएर सरकार चलाउन सकिन्छ । उल्लेखित विषयहरुमा गम्भीरतापूर्वक अघि बढ्न र आन्दोलनरत जेन–जीसहित सम्बन्धित सम्पूर्ण पक्षसँग सहकार्य गर्न हाम्रो पार्टी सदैव तयार रहेको छ,’– उनले भनेका छन् ।
राजनीतिक परिवर्तनपश्चात त्यसको व्यवस्थापनसहित आर्थिक–सामाजिक परिवर्तनको स्पष्ट मार्गचित्र बनाई अघि बढ्न नसक्दा जनतामा उत्पन्न चरम निराशा, आक्रोश उत्पन्न भएको, बेरोजगारी तथा युवा पलायनजस्ता बिषयले हालको परिस्थिति उत्पन्न भएको पूर्व प्रधानमन्त्री नेपालको ठहर छ । केही सीमित नेतृत्वको कुशासन र अहमताका कारण लामो संघर्ष र बलिदानी पश्चात प्राप्त गरेका उपलब्धीहरूलाई गुम्न दिन नहुने उनले बताएका छन् । अहिले राष्ट्रलाई असफल हुने खतराबाट जोगाउनुपर्ने र वैधानिक रूपमा र कानूनसम्मत रूपमै जेन–जी आन्दोलनका मागहरू तथा जनताको हितलाई सर्वोपरी राखेर वर्तमान सङ्कटलाई चिर्नुपर्ने एकीकृत समाजवादीको धारणा रहेको पनि अध्यक्ष नेपालले बताएका छन् ।
विषम परिस्थितिमा धैर्यता र संयमताका साथ जेन–जी आन्दोलनले उठाएका भ्रष्ट्राचारको विरोध र सुशासन कायम गर्ने एजेण्डाहरूमा पूर्ण समर्थन र सहयोग गर्ने, जेन जी आन्दोलनका क्रममा भएको चरम दमनको विरोध गर्ने, दोषीहरूलाई कारवाहीको माग गर्ने, उनीहरूका परिवारलाई समवेदना तथा सहानुभूति दिने, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नेजस्ता कामलाई जनताको घरसम्म पुगेर गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।
साथै, उनले जेन–जीको आन्दोलनमा घुसेर भौतिक संरचनाहरू ध्वस्त गर्ने, मानिसहरूका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, मानिसलाई घरभित्रै राखेर आगो लगाउने तथा समाजमा हिंसा मच्चाएर कानून तथा व्यवस्थालाई हातमा लिने कार्यलाई कदापि स्वीकार गर्न नसकिने बताएका छन् । यस्ता कार्यको उचित छानविन तथा दोषीउपर कडा कारवाही हुनुपर्ने उनको माग छ ।




प्रतिक्रिया