राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव, संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नुपर्दछ


काठमाडौं, २६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

उनले संसद्ले निर्वाचित गरेको राष्ट्रपति र जनर्विाचित संसदजस्ता संस्थाहरु कायमै भएकोले अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव छ । उनले यस प्रक्रियामा राष्ट्रपतिले पहलकदमी लिनुपर्नेमा जोड दिएकी छिन् ।

उनले भनेकी छिन्,‘संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नुपर्दछ । यसो गरिरहँदा आन्दोलनकारी जेन–जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्छ ।’

उनले देश नेपाल र यसको सार्वभौमिकता, अखण्डता र स्वाधीनता आफूहरुलाई प्राणभन्दा प्यारो रहेको उल्लेख गरेकी छिन् । उनले थप भनेकी छिन्,‘राष्ट्र र राष्ट्रियताप्रति हामीलाई असाध्यै गर्व छ । देशप्रेमको भावना हाम्रो नशा–नशामा छ । हाम्रा बहादुर पुर्खाको समर्पण र त्यागले नै हामीले आफूलाई नेपाली भन्न पाएका हौं । सदा स्तुत्य हाम्रा पुर्खाको नासोको रुपमा रहेको प्राकृतिक स्रोत, सम्पदा र सुन्दरताले भरिपूर्ण यस देशको विकास गरेर विश्वसामू सर्वोच्च शीखर सगरमाथा भएको एउटा समृद्ध मुलुक बनाउने संकल्प साकार पार्न संवैधानिक तथा कानूनी प्रावधान एवम् राज्यका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नु चूनौति बनेको छ ।’