जबसम्म यो संविधान रहन्छ, तबसम्म धारा ७६ भन्दा बाहिर गएर सरकार बन्दैनः संविधानविद् डा.भण्डारी (भिडिओसहित)


काठमाडौं, २७ भदौ । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा.सुरेन्द्र भण्डारीले वर्तमान नेपालको संविधान खारेज नभएसम्म अन्तरिम सरकार गठन हुन नसक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान संविधानले अन्तरिम सरकार बनाउन नदिने र यो संविधान रहेसम्म धारा ७६ भन्दा बाहिर गएर सरकार गठन गर्न नसकिने बताएका हुन् । संविधानविद् भण्डारीले जेन–जी आन्दोलनकारीहरुले यो संविधानबाटै निकास खोज्नुपर्छ भनिराखेको अवस्थामा अन्तरिम सरकार बन्न असम्भव रहेको बताए ।

‘जेन–जीका आन्दोलनकारीको बीचमा एकमत छैन । उनीहरुको बीचमा मत विभाजित अवस्थामा छ । उनीहरु संविधानभित्रबाट निकास खोज्नुपर्छ भनिराखेका छन् । कि त उनीहरुले भन्न सक्नुपर्थ्यो– यो सिंगो सत्ता समाप्त भयो, यो संविधान समाप्त भयो । अब नयाँ संविधानको घोषणा हुन्छ । हामी अन्तरिम संविधान लेख्छौं । त्यो अन्तरिम संविधान आउँदो सरकारले बनाउँछ । र त्यो सरकार चाहिँ यो संविधानभन्दा बाहिरबाट बन्छ । त्यो भन्न सक्नुपर्थ्यो । हामी संविधानभित्रैबाट निकास खोज्छौं भनिसकेपछि यो संविधानले अन्तरिम सरकार बनाउन दिँदैन । जबसम्म यो संविधान रहन्छ, तबसम्म धारा ७६ भन्दा बाहिर गएर सरकार बन्दैन,’– उनले भने ।

वर्तमान संविधानले धारा ७६ भन्दा बाहिर गएर कसैलाई पनि प्रधानमन्त्री बनाउन नसक्ने उनको दाबी छ । ‘संसद् भन्दा बाहिरको कुनै पनि व्यक्ति प्रधानमन्त्री बन्न सक्दैन । सुशिला कार्की हुन् कि अर्को जो–जो हुन्, तपाईँ संविधानभित्रको कुरा गर्नुहुन्छ भने कोही पनि बन्न सक्दैन,’– उनले भने ।

वरिष्ठ अधिवक्ता डा.भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ‘काम चलाउ सरकार’ बनिसकेकाले यसले संसद् विघटन पनि गर्न नसक्ने बताए । सर्वोच्च अदालतले पटक–पटक संसद् विघटनबारेमा बोलेको र अहिलेको असामान्य परिस्थितिमा संसद् विघटन गर्न सकिने भए पनि काम चलाउ सरकारलाई त्यो अधिकार नरहेको उनले बताए । उनले मुलुक ठूलो संवैधानिक जटिलताभित्र प्रवेश गरेको बताए । वर्तमान संविधानअनुसार संसद् विघटन भयो भने पनि संसद् विघटन गराउने प्रधानमन्त्री नै काम चलाउ हुने र उसैले निर्वाचन गराउनुपर्ने उनको तर्क छ ।