पोल्यान्डको सिमा नीति असन्तुलित : रूस


मस्को,२७ भदौ । रूसले पोल्यान्डलाई बेलारुससँगको सिमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। बिहीबार, रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिया झाखारोभाले उक्त जानकारी दिएको हो।

प्रवक्ताका अनुसार, पोल्यान्डद्वारा उठाइएको कदमले युरोपको केन्द्रमा विद्यमान परिस्थिति थप जटिल र तनावपूर्ण बनाउन सक्ने सम्भावना छ।

उनले भने, “पोल्यान्डको एकपक्षीय निर्णयले ती अन्तरराष्ट्रिय साझेदारहरूलाई कठिनाइ पुर्‍याउनेछ, जसले पोल्यान्ड–बेलारुस सिमानाबाट व्यापारिक गतिविधि सञ्चालन गरिरहेका छन्।”

यसअघि, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मंगलबार रूस र बेलारुसबीच सञ्चालन भइरहेका सैन्य अभ्यासका कारण बिहीबार मध्यरातबाट पोल्यान्डले बेलारुससँगको सिमाना पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको घोषणा गर्नुभएको थियो। उहाँले उक्त अभ्यासलाई अत्यन्त उग्र र चासोको विषय भनेको थियो।

यता, प्रवक्ता झाखारोभाले भने, “उक्त सैन्य अभ्यासहरू नियमित रूपमा आयोजना हुने गरेका छन् ।”

यसै सन्दर्भमा, बेलारुसको विदेश मन्त्रालयले पोल्यान्डका कार्यवाहक प्रतिनिधिलाई बोलाई पोल्यान्डको निर्णयप्रति मौखिक आपत्ति जनाएको छ।

बेलारुसी पक्षले भनेको छ, “पोल्यान्डको एकपक्षीय निर्णयले सम्पूर्ण युरोपेली सङ्घ–बेलारुस सिमानामा प्रभाव पार्नेछ, जसले सर्वसाधारण नागरिक तथा मालसामानको आवत–जावतमा गम्भीर अवरोध सिर्जना गर्न सक्छ।” रासस

Skip This

Omoda E5 Pro