काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी जेन–जीले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुरामा तयार रहेको बताएका छन् । आज (शुक्रबार) भिडियो सन्देश जारी गर्दै उनले कांग्रेस ‘जेन–जी’ ले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउन र त्यसको लागि उपयुक्त वातावरण बनाउन लागिपरेको बताएका हुन् ।
‘हामी प्रष्ट छौं– यो बेलामा जेन–जी आन्दोलनकारी साथीहरुले जे माग राख्नुभएको छ, त्यो मागलाई सम्मान गरेर, सम्बोधन गरेरमात्रै देश अगाडि बढ्न सक्छ । अन्तरिम सरकार बनाउने कुरा छ । सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुङ्गिएला । आन्दोलनकारी साथीहरुले माग गरेअनुरुप, उहाँहरुले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराको निम्ति नेपाली कांग्रेस तयारमात्रै होइन, आवश्यक वातावरण पनि बनाइरहेको छ,’– उनले भने ।
साथै, उनले अब बन्ने सरकारले निर्वाचन गराउने, अहिलेको घटनाको छानविन र पुनर्निर्माणको नेतृत्व गर्ने उनले बताए । तर, अहिले बन्ने सरकारलाई संविधानसँग जोड्नुपर्ने उनको माग छ । उनले अहिले बन्ने सरकारलाई संविधानसँग जोडिएन भने यसले दिने समाधान स्थायी नहुने उनको भनाइ छ । उनले भने, ‘त्यही सरकारले कामहरु अगाडि बढाउँछ, निर्वाचन गराउँछ । अहिलेको छानविन गर्ने काम, पुनर्निर्माणको कामको नेतृत्व गर्छ । तर, एउटै कुरा छ, यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं । संविधानसँग जोडिएन भने अहिलेको सरकारले दिने समाधान स्थायी समाधान हुन सक्दैन ।’
आज साँझसम्ममा सरकार बन्ने कुरा टुङ्गिने र त्यसपछि विस्तारै राजनीति आफ्नो लयमा फर्किने उनले बताए । साथै, उनले कांग्रेस आजको अवस्थामा अगाडि बढ्न नसक्ने र पार्टीको पुनर्गठन अनिवार्य रहेको बताए । कांग्रेससँग नागरिकको विश्वास टुटेको कुरालाई स्वीकार गरेर त्यसको समीक्षा गर्नुपर्ने उनले बताए । नयाँ पुस्ताले पुराना दलहरुलाई नरुचाएको र नपत्याएको कुरा पनि स्वीकार गरेर अगाडि बढ्न सक्नुपर्ने उनको धारणा छ । उनले नौजवानहरु किन आज कांग्रेसको साथमा छैनन् भन्ने कुराको उत्तर खोज्नुपर्ने आवश्यकता औंल्याए । यसको लागि कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको उनको भनाइ छ ।




प्रतिक्रिया