सांसदभन्दा बाहिरको व्यक्ति प्रधानमन्त्री बन्न मिल्नेगरी संविधान संशोधन गरेरमात्रै संसद् विघटन गर्नुपर्छः पूर्व महान्यायाधिवक्ता संग्रौला (भिडिओसहित)


काठमाडौं, २७ भदौ । पूर्व महान्यायाधिवक्ता प्रा.डा.युवराज संग्रौलाले परिवर्तनलाई स्वीकार गरेर राजनीतिक दलहरु सत्ताबाट बाहिरिइसकेको अवस्थामा अहिलेको आन्दोलनमा सरिक भएका सरोकारवालाहरुको चाहनाबमोजिम सरकार गठन गर्नु उचित हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशलाई बन्धक बनाएर राख्न नमिल्ने बताए । ‘अहिलेको आन्दोलनमा सरिक भएका पुस्ता वा सबै सरोकारवालाहरुको चाहनाबमोजिम सरकार गठन गर्नु नै मलाई लाग्छ उचित हो । राष्ट्रलाई बन्धक बनाएर राख्न पनि मिल्दैन । देशले ठूलो क्षति भोगेको छ । सरकार आयो भने कम्तिमा बिग्रेका, भत्किएका बनाउन र नयाँ व्यवस्थाको परिकल्पना गर्ने अवस्था सिर्जना हुन्छ । निकासको अर्को कुनै विकल्प छैन,’– उनले भने ।

प्रा.डा.संग्रौलालृे वैधानिकताको सिद्धान्त र आवश्यकताको सिद्धान्तलाई सन्तुलन बनाएर अबको समस्याको समाधान खोजिनुपर्ने बताए । उनले अहिलेको संसद् भंग नगरी प्रतिनिधिसभा बाहिरको मान्छे पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था संविधानमा गरिनुपर्ने उनले बताए । राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गरेर आवश्यकताको आवस्यकताको आधारमा निर्वाचित नभएको व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था पारित गराउनुपर्ने उनले बताए ।

‘अहिलेको संविधानभित्र जाने हो भने यो प्रतिनिधिसभालाई भंग गर्नुभन्दा अगाडि राष्ट्रपतिले बाहिरको व्यक्ति पनि प्रधानमन्त्री नियुक्त गर्न सकिने व्यवस्था पास गर, धारा ७६ भित्र । म स्वीकार गर्छु भनेर त्यही व्यवस्थाअन्तर्गत अब प्रधानमन्त्री नियुक्त गरेर अगाडि गए भयो । त्यसपछि प्रतिनिधिसभा भंग गरेर वा निलम्बित गरेर राखे भयो,’– उनले भने ।