काठमाडौं, २७ भदौ । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा.सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङलाई तत्काल गिरफ्तार गरी मानवताविरोधी अपराधमा मुद्दा चलाउनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा.भण्डारीले नयाँ सरकार बनेकै दिन तीन ओली, लेखक र खापुङलाई गिरफ्तार गरिनुपर्ने बताएका हुन् । जेन–जी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ठूलो मानवीय क्षति भएको थियो । जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या हालसम्म ५१ पुगेको छ ।
‘केपी ओली, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरु मूलतः नेपाल प्रहरीका आईजीपीलाई पनि मानवताविरोधी अपराधमा मुद्दा चलाउनुपर्छ । यो आउने सरकार बनेकै दिन उनीहरुलाई गिरफ्तार गर्न सक्नुपर्छ । मानवताविरोधी अपराधमा मुद्दा चलाउनै पर्छ । यो नगर्ने हो भने त्यो सरकारको कुनै औचित्यता नै छैन । परिवर्तनको कुनै औचित्यता नै हुँदैन । यत्रो अबोध बालबालिका मरेका छन्, यत्रो मान्छेको साहदत भएको छ । यत्रो भ्रष्टाचारको विरुद्धमा आन्दोलन भएको छ, अनि तिनैलाई प्रोटेक्सन गर्ने ? आउने सरकारको थुप्रै च्यालेन्जेजहरु छन् । निर्वाचन गराउने मात्रै आउने सरकारको उद्देश्य हुन हुँदैन,’– उनले भने ।
साथै, उनले सर्वोच्च अदालत र सिंहदरबार जलाउनु मानवताविरोधी अपराध रहेको बताए । उक्त मानवताविरोधी अपराधमा संलग्नहरु पत्ता लगाएर कानूनको दायरामा ल्याउँछु भनेर प्रतिवद्धता गर्न सक्ने मान्छेमात्रै अबको सरकारमा जानुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया