काठमाडौं, २८ भदौ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीको नियुक्ति बदर हुने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उनको नियुक्तिविरुद्ध कोही मान्छे गएभने अदालतले त्यसलाई बदर गरिदिने बताएका हुन् । उनले कार्की प्रधानमन्त्री भएर कुनै पनि समस्या समाधान नहुने र जनताको अपेक्षा पनि सम्बोधन हुन नसक्ने बताए । उनी प्रधानमन्त्री भएर फोटो टाँस्ने भन्दा अर्को उपलब्धी नरहेको उनको टिप्पणी छ ।
‘यो संविधान कायम रहेसम्म उहाँले केही पनि गर्न सक्नुहुन्न । उहाँको ड्यिूटी नै के हो भने चुनाव गराउन अन्तरिम सरकार, त्यत्ति हो । उहाँको नियुक्तिमा प्रश्न उठ्यो भने, अदालत कोही मान्छे गए भने संविधान कायम रहेसम्म, यो भन्दा अगाडि सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा बोलेको फैसलाले उहाँको नियुक्ति कसरी कायम हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।
साथै, तत्कालीन अन्तरिम सरकारका अध्यक्ष खिलराज रेग्मीको नियुक्तिविरुद्ध परेको मुद्दामा तत्कालीन न्यायाधीशद्वय कार्की र कल्याण श्रेष्ठले न्यायाधीश प्रधानमन्त्री हुन सक्दैन भन्ने राय दिएको पनि उनले स्मरण गराए । पूर्व प्रधानन्यायाधीश कार्की आफ्नै फैसलाको विरुद्धमा भएको उनको दाबी छ । ‘अरु केही न्यायाधीशले यो विशेष परिस्थितिको कुरा हो, हुन सक्छ भनियो । सशिला कार्की र कल्याण श्रेष्ठले न्यायमा काम गरिसकेको मान्छे प्रधानमन्त्री हुन सक्दैन भन्ने राय छ,’– उनले भने ।
उनले जेन–जी आन्दोलनको उपलब्धी ‘माछो–माछो भ्यागुतो’ भएको बताए । जेन–जी आन्दोलन हिजोको मितिबाट धोकाधडीमा गएको उनको भनाइ छ । उनले जेन–जी आन्दोलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संलग्नता रहेको बताए । सुशिला कार्की प्रधानमन्त्री भएर नेपाली जनताको अपेक्षा एक प्रतिशत पनि पूरा नहुने उनको दाबी छ ।




प्रतिक्रिया