सुमना श्रेष्ठ प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिमण्डलमा सहभागी नहुने


काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले आफू अन्तरिम सरकारको मन्त्रिमण्डलमा नजाने बताएकी छन् । उनले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई पूर्ण समर्थन रहेपनि आफू मन्त्रिमण्डलमा भने नजाने बताएकी हुन् ।

‘सत्ता होइन, सेवा गर्ने, कुर्सी होइन, कर्म गर्ने, नाम होइन, काम गर्ने । म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन। मेरो यस सरकारप्रति पूर्ण समर्थन छ,’– उनले भनेका छन् ।

साथै, वर्तमान सरकारलाई असफल हुने सहुलित नरहेको उनले बताएकी छन् । यो सरकारलाई सफल गराउन आफ्नो अनुभव, सञ्जाल र समय दिने पनि उनले बताएकी छन् । त्यसको बदलामा कुनै मन्त्रीको पद नलिने उनको उद्घोष छ ।

हरेक आन्दोलनपछि जसको विरुद्ध आन्दोलन भएको हो, त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको बताउँदै उनले यसपालीको आन्दोलनमा आफू प्रदुषणको कारक नबन्ने उल्लेख गरेकी छन् । उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।