काठमाडौं, २८ भदौ । अर्थविद्हरुले मुलुकलाई अहिलेको चूनौतिबाट पार लगाउनको लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझाव दिएका छन् । नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर काम गर्न उनीहरुको सुझाव छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्नपनि सुझाव दिएका छन् ।
बरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र ६१ खर्बमा आधा अहिले नोक्सानी भएको टिप्पणी गरेका छन् । उनले भने,‘राष्ट्र अहिले अप्ठ्यारोमा छ । यसलाई कसरी जोगाउने ? राष्ट्रलाई डुब्न लागेको डुंगालाई उतारेको जसरी जोगाउनुपर्छ ।’ उनले जेन–जी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरुको रगतले, जीवनको सहादतले जुनखालको परिवर्तन खोजेको छ त्यहीअनुसार सबैजना लाग्नुपर्नेमा जोड दिएका छन् ।
उनले अब सबैले व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । उनले अहिलेको आन्दोलन पुस्तान्तरणको माग भएकोले अब सोहीअनुसार चल्नुपर्ने बताए । उनले भने,‘हाम्रो अर्थतन्त्र सुस्त थियो । अर्थतन्त्र विकृतिले भरिएको थियो । भ्रष्टाचारले ग्रसित थियो । मन्दी थियो । युवाहरु अर्थतन्त्रप्रति सन्तुष्ट थिएनन् । घुपैठको कारण आन्दोलनलाई बदनाम गर्ने काम भयो, नोक्सानी धेरै भयो । परिपूर्ति गर्ने तरिका अब गम्भीरतापूर्वक कदम चाल्नुपर्छ ।’
उनले यो जेन–जी आन्दोलनले अब शासकहरुलाई पक्कैपनि भ्रष्टाचार गर्ने कुरा चार चोटी सोच्न बाध्य बनाएको टिप्पणी गरे । यो आन्दोलनको क्रममा २५ अर्ब रुपैयाँ त होटेल सेक्टरको क्षति भएको कुरा बाहिरिएको उल्लेख गर्दै अहिलेको क्षतिको बिमाले धान्न नसक्ने भन्ने कुरा आएको पनि स्मरण गराए ।
यसअघि कोभिड महाव्याधिमा पनि बिमाले भुक्तानी गर्न नसकेको कुरा अधिकारीले सुनाए । उनले भने,‘हाम्रा उद्योग जलेको छ । सम्पदा जलेको छ । सुरक्षाकर्मीको कार्यालय, मिडिया, कार्यपालिका, न्यायापलिाका, व्यवस्थापिका सबै क्षेत्रमा असर गरेको छ । हाम्रो अर्थतन्त्र ६१ खर्बको छ, त्यसको आधा जति नोक्सान भएको छ । हाम्रा सूचना, सम्पदाको नोक्सान भएको छ । दस्तावेजको नक्सान भएको छ । प्रमाणको नोक्साना भएको छ । यसले हाम्रो बजेटको २ वर्षको क्षति भएको छ । एक हप्ता अर्थतनत्र ठप्प छ । दैनिक नोक्सानी भएको छ । अब स्रोतको कमी हुन्छ । रोजगारी गुमेको छ । गरिबी बढेर जान्छ । युवा पलायन हुने खतरा छ,। बाहिर जाने क्रम बडेर जान्छ ।’ उनले वर्तमान सरकारलाई समयमा निश्पक्ष, पारदर्शी ढंगले र सबैको सहभागिता हुनेगरि चुनाव गराउन आग्रह गरेका छन् ।




प्रतिक्रिया