बच्चाको टाउकोमा ताकी-ताकी गोली हान्न आदेश दिने प्रधानमन्त्री र गृहमन्त्री कारबाहीको दायरामा आउनुपर्छः रवि लामिछाने


काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका क्रममा बच्चाको टाउकोमा ताकी–ताकी गोली हान्न आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि कारबाही हुनुपर्ने बताएका छन् । आज (शनिबार) भिडिओ सन्देश जारी गर्दै उनले बच्चाको टाउकोमा ताकी–ताकी गोली हान्न आदेश दिनेमाथि पनि छानविन हुनुपर्ने र देशका संरचनाहरुमा आगो झोस्नेहरुमाथि पनि कारबाही हुनुपर्ने बताएका हुन् ।

‘बच्चाको टाउकोमा ताकी–ताकी गोली हान्ने गृहमन्त्री र प्रधानमन्त्री कारबाहीको दायरामा तत्काल आउनुपर्छ । देशका संरचनाहरुमा ताकी–ताकी आगो झोस्नेहरु पनि तत्काल कारबाहीको दायरामा आउनुपर्छ,’– उनले भनेका छन् ।

सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताको लागि आफ्नो सबै शक्ति र सामर्थ्य प्रदान गर्ने उनले बताए । त्यसका लागि आफ्नो केही मागहरु रहेको पनि उनले बताए । लामिछानेले २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरु र उच्च पदस्थको सम्पत्ति छानविन हुनुपर्ने माग राखे ।

त्यस्तै, सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्ध गरिनुपर्ने, कर्मचारीदेखि न्यायलयसम्म पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्ने, सुब्बादेखि माथिकाले फेरि जाँच दिनुपर्ने, सम्पूर्ण विश्वविद्यालयहरुमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेशी स्थापित हुनुपर्ने र सम्पूर्ण राजदूतहरुको नियुक्तिमा समेत यही विधि लागू हुनुपर्ने उनको माग छ ।