भ्रष्ट नेतृत्वलाई राजनीतिमा फर्केर आउन दिन हुँदैनः राजनीतिक विश्लेषक डा.केसी (भिडिओसहित)


काठमाडौं, २९ भदौ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले भ्रष्ट नेतृत्वलाई राजनीतिमा फर्केर आउन नदिने व्यवस्था हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तीन/चार लेयरका भ्रष्ट नेताहरुलाई राजनीतिमा फर्केर आउन दिन नहुनेर अहिलेको विशिष्ट परिस्थितिमा संयम भएर सहमतितर्फ जानुपर्ने बताएका हुन् ।

‘संयम हुनुपर्छ । सहमतितर्फ जानुपर्छ । नेताहरुले हात उठाउनुपर्छ । त्यहाँ भएको तीन/चार लेयरको भ्रष्ट नेतृत्वलाई त राजनीतिमा फर्केर नै आउन नदिने व्यवस्था हुनुपर्छ,’– उनले भने ।

विश्लेषक केसीले अहिलेको विशिष्ट परिस्थितिमा प्रतिनिधिसभा विघटन हुनु स्वभाविक रहेको बताए । अहिलेको विशिष्ट परिस्थितिमा संसद् विघटनभन्दा अर्को विकल्प नै नरहेको उनको भनाइ छ । विशिष्ट परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर उपयुक्त निकास दिएको उनको भनाइ छ ।

‘यो विशेष परिस्थिति हो । विद्रोहबाट आएको स्थिति हो । राज्यले हात उठाइसकेको स्थिति हो । अन्तरिमकालीन व्यवस्था गरिएको हो । रामचन्द्र पौडेलले निकास निकालेका छन् । यो भन्दा अर्को उपाय छैन,’– उनले भने ।

उनले जेन–जी पुस्ता नै अबको आशाको केन्द्र रहेको बताए । जेन–जी कै बलिदानीको कारण आजको स्थिति आएको बताउँदै उनले भने, ‘जेन–जी भनेर नयाँ पिढी आएको छ । त्यो नै पिढी नै आशाको केन्द्र हो । त्यसले नै त्याग बलिदान गरेर आज यो स्थिति आयो । हामीले लडाईँ, झगडा गर्यौं भने विनासतिर जान्छ ।’

राजनीतिक विश्लेषक केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई पाखण्डी, लोभी र पापीको संज्ञा दिएका छन् । यिनै नेताहरुको कारण आज देशमा यो अवस्था आएको उनको दाबी छ ।