अन्ततः रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी


काठमाडौं, २९ भदौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम लाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेता चौधरीले आफूले नाउपा छाडेर आजदेखि अलगै अभियान सञ्चालन गर्न लागेको बताएका छन् । उनले आफूसँग भावना मिल्ने र आन्दोलनको मर्म बुझ्ने साथीहरुलाई हातेमालोको लागि आह्वानसमेत गरेका छन् ।

‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्न चाहन्छु । म नागरिक उन्मुक्ति पार्टीमा आजबाट हुन्न । आजबाट म अलग अभियानमा छु । म अलग भएको घोषणा गर्दछु । मसँगै मेरो भावना, मेरो आन्दोलन, मेरो आन्दोलनको मर्म बुझ्ने साथीहरु आजबाट हातेमालो गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

उनले नाउपामा रोइलो भएको र आफूले उक्त रोइलोबाट मुक्ति चाहेको पनि बताएका छन् । उनले भने,‘मलाई अब झगडा गर्नु छैन । कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो । कहिले संस्थापक केन्द्रीय सदस्यको रोइलो । म यो रोइलोबाट मुक्त हुन चाहन्छु । मैले जस पाइँन ।’