सर्वोच्चले सही ढङ्गले ब्याख्या गर्ने हो भने संसद् पुनर्स्थापना हुन्छः अधिवक्ता भट्टराई (भिडिओसहित)


काठमाडौं, २९ भदौ । अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले सर्वोच्च अदालतले सही ढङ्गले ब्याख्या गरेको खण्डमा संसद् पुनर्स्थापित हुनसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सर्वोच्चले सही ढङ्गबाट निकास खोजेको खण्डमा संसद्भित्रैबाट निकास निस्किन सक्ने बताएका हुन् ।

‘सर्वोच्च अदालतले संविधानको सही ढंगले व्याख्या गर्ने हो भने संसद् पुनर्स्थापना हुन सक्छ । संसद्भित्रैबाट समस्याका निकास खोजिन सक्छ । होइन सदर नै भयो भने पनि हामीले राख्ने चाहना र अपेक्षा के हो भने– यो संविधानलाई न्यूनतम क्षति हुनेगरी देशलाई अगाडि बढाउनेतर्फ जानुपर्छ,’– उनले भने ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए । प्रतिनिधिसभा विघटनको विपक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न ८ दल उभिएका छन् । उनीहरुले संसद् विघटन गर्ने निर्णय फिर्ता लिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेका छन् ।