काठमाडौं, २९ भदौ । दलित समुदायका अगुवाहरुले अन्तरिम सरकारमा दलित समुदायको उचित प्रतिनिधित्व हुनुपर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अन्तरिम सरकारमा दलितको अपनत्व कायम हुनुपर्ने बताएका हुन् ।
दलित अभियन्ता गणेश बहादुर गोतामेले अन्तरिम सरकारले दलितको हक, अधिकार र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताए । उनले भने, ‘सरकारमा दलितका अपनत्व कायम हुनुपर्छ । दलितको अधिकार स्थापित गर्नका लागि दलित वर्गमा म आह्वान गर्न चाहन्छु । अन्तरिम सरकारसँग हाम्रा हक अधिकार, रोजगारीको समस्या, छुवाछुतको समस्या निराकरण हुनुपर्छ ।’
उनले वर्गीय मुक्ति प्राप्त गर्नका लागि पनि जेन–जीको क्रान्ति आवश्यक रहेको उनले बताए । जेन–जी क्रान्तिले सामन्त वर्गहरु दुलोभित्र लुकेको उनको टिप्पणी छ । जेन–जी क्रान्तिको उपलब्धीलाई जोगाइराख्न सक्नुपर्ने उनले बताए ।
अर्का वक्ता प्रकाश प्रतिकारले निवर्तनमा प्रधानमन्त्री केपी शर्मा ओलीालाई ‘हिटलरभन्दा पनि तानाशाही बा’ को संज्ञा दिए । प्रधानमन्त्री ओलीकै निर्देशनमा जेन–जी युवाहरुलाई ताकी–ताकी गोली हानिएको उनको भनाइ छ । ‘हिटलरभन्दा पनि तानाशाही बाले हाम्रा भाइ बहिनीहरुको नरसंहार गरिदिए । ताकी–ताकी गोली हानेर टाउको फुटाइदिए,’– उनले भने ।
उनले आज नेपालमा दलितहरुको अवस्था दासजस्तो र अनागरिक जस्तो रहेको बताए । व्यवस्था र अवस्था बदलिँदै गर्दा दलितहरुको चाहिँ अधिकार भने खोसिदिने काम भएको उनले बताए । अबदेखि राज्य संरचनामा उत्पीडित, दलित, जनजाति, महिला आदिवासी सम्पूर्ण रुपमा उचित प्रतिनिधित्वको व्यवस्थामा हुनुपर्ने उनले बताए । उनले जेन–जीको नाममा दासत्व स्वीकार गर्न भने नसकिने बताए ।
अर्का वक्ता जनक परियारले अन्तरिम सरकारमा उत्पीडित समुदायलाई पनि अगाडि बढाइनुपर्ने बताए । अब युवाहरुलाई आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना गरिनु्पर्ने उनको माग छ । ‘अन्तरिम सरकार बनेको छ । यो सरकारले उत्पीडित समुदायलाई पनि अगाडि बढाउनुपर्छ । आफ्नै देशमा केही गर्न सक्ने वातावरण बनाउनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया