काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएको छ । आज (आइतबार) वक्तव्य जारी गर्दै कांग्रेसले संसद् विघटनबाट देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात गरेको बताएको हो । संसद् विघटनले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सर्वोच्च अदालतको पूर्ववर्ती फैसला (नजीर) विपरीत रहेको पनि कांग्रेसको निष्कर्ष छ ।
‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ,’– पार्टी उपसभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा जारी गरिएको वक्तव्यमा भनिएको छ ।
साथै, जेन–जी पुस्ताको प्रदर्शनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अन्य राजनैतिक नेतृत्वमाथिको भौतिक आक्रमण भएकोप्रति कांग्रेसले भर्त्सना गरेको छ ।
जेन–जीको भावनाविपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरू देखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको कांग्रेसको निष्कर्ष छ । कांग्रेसले उक्त घटनालाई ‘अकल्पनीय र दुःखद’ भनेको छ ।
‘लोकतन्त्रका लागि जीवनपर्यन्त अविचलित रुपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथिको अमानवीय र वर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’– वक्तव्यमा भनिएको छ । File Photo/RN




प्रतिक्रिया