‘जेन-जी’ हरुको बाहुल्यता भएको सरकार बनाउनुपर्छः राजनीतिक विश्लेषक डा.केसी (भिडिओसहित)


काठमाडौं, ३० भदौ । राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले जेन–जी आन्दोलनको औचित्यता शिद्ध हुनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले माओवादीको जनयुद्ध, मधेश आन्दोलनलगायतले आफ्नो औचित्यता शिद्ध गर्न नसकेको स्मरण गराउँदै उनले जेन–जीले भने आन्दोलनको औचित्यता पुष्टि गर्न सक्नुपर्ने बताएका हुन् ।

‘उनीहरु (जेन–जी) ले यत्रो क्षति गरिसकेपछि त यसको औचित्य शिद्ध गर्नुपर्यो नि त अब । माओवादीले जनयुद्ध गर्यो, मधेशवादीले मधेश आन्दोलन गरे । खै त औचित्य ? किन गरेको त त्यो ? नेपालमा भएका प्रत्येक क्रान्तिको औचित्य शिद्ध भएन,’– उनले भने ।

राजनीतिक विश्लेषक डा.केसीले प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा १३ देखि २८ वर्ष उमेर समूहको बर्चस्व हुनुपर्ने बताए । अब जेन–जीले आफ्नो नीति तथा कार्यक्रममा अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्ने र उनीहरुको बाहुल्यताको सरकार बन्नुपर्ने उनले बताए । ‘जेन–जीले आफ्नो नीति तथा कार्यक्रम अनिवार्य प्रस्तुत गर्नुपर्छ । उनीहरुको बाहुल्यताको सरकार बन्नुपर्छ र उनीहरुका नीति तथा कार्यक्रमहरु एक्सनमा जानुपर्छ,’– उनले भने ।

उनले जेन–जी आन्दोलनका क्रममा १० लाख मान्छे विस्थापित र बेरोजगारी भएको बताए । जेन–जी आन्दोलनको क्रममा भएका ध्वंशात्मक गतिविधिको न्यायिक जाँच गरिनुपर्ने उनको माग छ । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको क्रममा भएको ध्वंशात्मक गतिविधिको न्यायिक जाँच गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही र भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने उनले बताए । त्यस्तै, आन्दोलनका क्रममा मृत्यु भएका मृतकका पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेहरुलाई निःशुल्क उपचार गराउनुपर्ने उनले बताए ।