काठमाडौं, ३० भदौ । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले दलहरुले अहिलेको सरकार र जेन–जी पुस्तालाई पूर्ण रुपले सहयोग गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दलहरुले बाधा अड्चन गरेको खण्डमा देश अधोगतिमा जाने र देश नै कोल्याप्स हुन सक्ने बताए । अहिलेको परिस्थिति र आन्दोलनमा दलहरुले सरकारलाई असहयोग गर्छु, चुनावमा जान्नँ भन्यो भने त्यो एकदमै गलत हुने उनले बताए । दलहरु चुनावमा जानुपर्ने र ६५ वर्ष नाघेकाले कुनै पनि दलबाट उम्मेदवारी दिन नहुने, विवादमा भएका, भ्रष्टाचारमा मुछिएका, लामो समय नेतृत्वमा बसेकाहरुले पनि उम्मेदवारी दिन नहुने उनले बताए । सबै दलले सकेसम्म ४० वर्ष मुनिकालाई उम्मेदवार बनाउनुपर्ने उनको भनाइ छ ।
‘दलहरु चुनावमा जानुपर्छ । जनमतलाई स्वीकार गर्नुपर्छ । चुनावमा गएर आफ्ना कुरा दलले राखोस् न । दलका नेताहरु जसलाई आरोप लागेको, जसलाई मुद्दा लागेको छ भनेदेखि तिनीहरुलाई तत्काल छानविन गर्न सुरु गर्ने र यो निर्वाचनमा उम्मेदवार बन्न नदिने,’– उनले भने ।
साथै, उनले आफू संलग्न दल नेकपा (माओवादी केन्द्र) ले अहिलेको सन्दर्भमा आवश्यक काम गर्न नसकेको र नेपाली कांग्रेस र एमालेले त गर्दै नगरेको बताए । उनले अकुत रुपमा सम्पत्ति कमाउने, भ्रष्टाचार गर्ने, आफन्तलाई हेर्ने, अरुलाई वास्ता नगर्ने, कसैका कुरा नसुन्ने गरेको कारणले अहिलेको यो अवस्था आएको उनको निष्कर्ष छ । नेपालको संविधान, नेपाल राष्ट्र, डेमोक्रेशी अथवा जनतन्त्र जोगाउनका लागि दलहरुले अहिलेको सरकारलाई मन, वचन र कर्मले सहयोग गर्नुपर्ने उनको भनाइ छ । अहिलेका अवस्थामा संवैधानिक प्रावधान हेर्न नहुने उनले बताए ।
‘संवैधानिक प्रावधान हेर्ने होइन । अहिले आन्दोलनले संविधान हेर्दैन नि । आन्दोलनले, क्रान्तिले त कानून परिवर्तन गर्छ, संविधान परिवर्तन गर्छ । तर, अहिले यही संविधानअन्तर्गत नै निर्वाचन गर्छु भनेको हुनाले यो निर्वाचन गर्नै पर्छ । यसैबाट नै कल्याण हुन्छ, यसको निम्ति लाग्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया