काठमाडौं, ३० भदौ । नवनियुक्त उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।
‘डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्छ भनेर मैले बारम्बार भनिरहेको हो । त्यसैलाई आधार मानेर म प्राधिकरणबा बाहिरिनुपर्ने अवस्था पनि आयो । यसलाई अब तत्कालै उठाउनुपर्छ । उद्योगी साथीहरुले देशको लागि केही योगदान मैले गरेँ भन्ने हिसाबले सोचेर गर्नुहुन्छ भन्ने मलाई लाग्छ । म उहाँहरुलाई पनि आह्वान गर्न चाहन्छु– योगदान गर्नुस्, देश गम्भीर अवस्थामा छ,’– उनले भने ।
डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापत विभिन्न उद्योगहरुलाई प्राधिकरणले २२ अर्बभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको छ । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक रहेको बेलामा बक्यौता उठाउन उनले ताकेता गरेका थिए । तर, गत चैतमा तत्कालीन सरकारले उनलाई बर्खास्त गरेको थियो । बर्खास्तगीमा परेका घिसिङ ७ महिनामा सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।
उनले अब पुनर्निर्माणतर्फ लाग्नुपर्ने बताए । अब विध्वंश नभएर निर्माण अभियान बनाइनुपर्ने उनले बताए । विषम परिस्थितिमा आफूलाई जिम्मेवारी दिइएको भन्दै उनले प्रधानमन्त्री सुशीला कार्की र जेन–जीहरुलाई धन्यवाद दिए । उनले भने, ‘अब हामी पुनर्निर्माणतिर लाग्नुपर्ने छ । देशलाई समृद्धितिर अगाडि बढाउनुपर्ने छ । राजनीतिक स्थिरता ल्याउनुपर्ने छ । अब देश रहेमात्रै हामी रहन्छौं । देश गम्भीर अवस्थामा छ । हामीले सही अवतरण गराउनुपर्छ ।’




प्रतिक्रिया