अनेरास्ववियुका उपमहासचिव जोशीको आग्रहः असली जेन-जीहरु फेरि आन्दोलनमा उत्रिनुस्, हामी सहयोग गर्न तयार छौं


काठमाडौं, ३० भदौ । अनेरास्ववियुका उपमहासचिव कमल जोशीले असली जेन–जीहरुलाई पुनः आन्दोलनमा उत्रिन आह्वान गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले जेन–जीहरुको मनोभावना बुझेर अहिलेको सरकार गठन नभएको बताएका हुन् । उनले साँच्चिकै युवा जेन–जीहरु आज सिनमा नदेखिएको बताए । अहिले जे परिघटनाहरु भइरहेका छन्, त्यो जेन–जीको मनोभावनाबमोजिम नभएको उनको भनाइ छ । जेन–जीलाई दवाबमा राखेर अहिले परिस्थिति अगाडि बढिरहेको उनको भनाइ छ । जेन–जीले बोकेका उद्देश्य एकदमै राम्रो रहेको उल्लेख गर्र्दै उनले अनेरास्ववियुको समर्थन रहने विश्वास दिलाए ।

‘नेपालमा स्थायित्व दिन, स्थायी सरकार निर्माणको लागि संविधान संशोधन गरेर भए पनि प्रत्यक्ष निर्वाचित गर्ने हो कि ? यही संसदीय व्यवस्थालाई संशोधन गरेर गर्ने हो ? यी कुराहरु पनि युवा जेन–जीको माग थियो । युवा जेन–जी जो साच्चिकै नेतृत्वकर्ता जो हुन्, आज ती देखिन पुगेका छैनन् । कुनै ठाउँमा, कुनै पनि सिनमा हामीले देखेका छैनौं । के साच्चिकै उहाँहरुको मनोभावना बुझेर यी परिघटनाहरु भइनै रहेका छन् ? उहाँहरुलाई दवाबमा राखिएको त छैन ? म ती असल जेन–जीहरुलाई समर्थन गर्दै बाहिर निस्किन पनि आह्वान गर्न चाहन्छु । तपाईँहरुको पछाडि हामी छौं । तपाईँहरुले जुन उद्देश्य र लक्ष्य बोक्नुभएको छ, त्यो साच्चिकै राम्रो थियो । त्यसको निमित्त अझै आन्दोलन गर्नुपरे पनि अनेरास्ववियुले समर्थन गर्ने छ,’– उनले भने ।

साथै, जेन–जी आन्दोलनका मृतक परिवार र घाइतेहरुप्रति वर्तमान सरकारले नजरअन्दाज गरेको उनको भनाइ छ । सरकारले किरिया खर्चवापत एक लाख रुपैयाँ दिने निर्णय गरेर मृतकहरुप्रति अपमान गरेको उनको भनाइ छ । कसैलाई सत्तामा पुर्याउनका लागिमात्रै उक्त आन्दोलन नभएको उनको भनाइ छ । ‘राज्यले घाइतेहरुलाई नजरअन्दाज गरिराखेको छ । किरिया खर्च भनेर एक लाख दिने गृहमन्त्रीले घोषणा गरेको पनि सुनेँ । मान्छेलाई मार्नलाई, सत्तामा पुग्नलाई राज्यले एक लाख रुपैयाँ छुट्याएर सहिदहरुप्रति अपमान गरेको छ । आज सयौं मान्छेहरु घाइते भए । दशैं–तिहारको मुखैमा । यो आन्दोलन नेपालमा तेस्रो जनआन्दोलन भन्न चाहन्छु म । राज्यसत्तालाई हिँडाउने गरी नेपालका विद्यार्थीहरुले आन्दोलन गरे । त्यो आन्दोलनको बलमा कसैलाई सत्तामा पुर्याउने त्यो युवा विद्यार्थीको चाहना थिएन,’– उनले भने ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका केही व्यक्तिहरुले यो आन्दोलनको जिम्मेवारी लिनुपर्ने बताए । राप्रपाका ज्ञानबहादुर शाहीले आन्दोलनलाई सबैभन्दा बढी उचालेको उनको आरोप छ । राज्य निकायहरु जलाउनेहरुलाई सरकारले निर्मम भएर कारबाही गर्नुपर्ने उनको माग छ ।