काठमाडौं, ३१ भदौ । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र कोमामा छ भन्ने कुरा गलत रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अर्थतन्त्रका केही क्षेत्रमा समस्या रहेको भए पनि कोमामै छ भन्ने भाष्य भने गलत रहेको बताएका हुन् । उनले भने, ‘पहिलो कुरा त अर्थतन्त्र कोमामा छ भन्ने कुरा गलत हो । अर्थतन्त्र कोमामा छैन । अर्थतन्त्रका केही क्षेत्रमा समस्याहरु छन् ।’
साथै, कामले प्रमाणित गरेर अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानीको लागि आकर्षित गराउन सक्नुपर्ने उनले बताए । अहिले अल्झिएर बसेका कामहरुको गाँठो फुकाउनेबित्तिकै अन्तर्राष्ट्रिय लगानीको क्षेत्रमा विश्वास बढेर जाने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताको हकमा बोलेर उहाँहरु फकिने होइन । हामीले कामले प्रमाणित गर्नुपर्ने हुन्छ । केही काम त्यस्तो अहिले पनि अल्झिएर बसेको छ । गर्नुपर्ने कामहरु छन् भने हामीले फुकाइदिनुपर्छ । त्यति गर्यो भने विश्वास बढ्छ,’– उनले भने ।
मन्त्री खनालले भ्रष्टाचार गरेका जोसुकै पनि कारबाहीको दायरामा आउने बताए । उनले छानविन भएर द्रुत गतिमा कारबाही प्रक्रिया अगाडि बढाइनुपर्ने बताए । उनले भने, ‘भ्रष्टाचार गरेको छ भने जुनसुकै व्यक्तिले गरेको होस्, त्यो व्यक्ति कारबाहीको दायरामा आउँछ । भाटे कारबाही भनेको जस्तो समातेर ल्याएर, थुतेर ल्याएर कारबाही भन्ने त हुँदै हुँदैन । त्यो गर्नै हुँदैन । कानूनी राज्यमा छानविन हुनुपर्यो, प्रमाण खोजिनुपर्यो, त्यो पछि कानूनी प्रक्रियामा जान्छ । कारबाहीको गति चाँडो हुन्छ । पहिला गति ढिला थियो होला ।’
अर्थमन्त्री खनालले अगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बजेट अभाव नहुने पनि बताए । उनले अहिलेकै बजेटभित्रबाट कतिपय कुराहरु कटौती गर्न सकिने बताए । उनले भने, ‘चुनावको लागि बजेटको अभाव हुन दिन हुँदैन । अहिलेकै बजेटभित्र रहेर कतिपय कुराहरु कटौती गर्न सकिने रहेछ ।’




प्रतिक्रिया