‘जेन–जी’ आन्दोलनको म्याण्डेटअनुसार अहिलेको सरकार बनेको दलहरुले स्वीकार गर्नुपर्छः उमेश मैनाली (भिडिओसहित)


काठमाडौं, ३१ भदौ । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले राजनीतिक दलहरुले जेन–जी पुस्ताकै म्याण्डेटअनुसार अहिलेको सरकार बनेको हो भन्ने स्वीकार गरेर अगाडि बढ्न सक्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार संवैधानिक भयो कि भएन भन्दा पनि अब दलहरुले आफ्नो औचित्य साबित गर्न चुनावको तयारीमा लाग्नुपर्ने बताएका हुन् । अब हामी सच्चियौं भनेर जनताको माझ जान उनले दलहरुलाई सुझाव दिए ।

‘दलहरुले पनि जेन–जी पुस्ताको आन्दोलनको म्यानडेडअनुसार सरकार बनेको हो भनेर स्वीकार गर्नुपर्छ । संवैधानिक भयो कि भएन भनेर बहस गर्ने भन्दा अब आफ्नो औचित्य साबित गर्न चुनावको तयारी गर्ने नै हो,’– उनले भने ।

संविधानको संरक्षकको हैसियतले राष्ट्रपति रामचन्द्र पौडेलले विशेष अधिकार प्रयोग गरेर अहिलेको सरकार बनाएको उनले बताए । प्रधानमन्त्रीको नियुक्ति गैरसंवैधानिक भयो, संसद् विघटन गलत थियो भन्दा वातावरण बिग्रिने र राम्रो नहुने उनले बताए । वर्तमान सरकारलाई सहयोग गर्दै चुनावको तयारीमा लाग्न उनले दलहरुलाई आग्रह गरे ।

साथै, उनले प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गरेर पुनर्निर्माणमा सहयोगका आह्वान गर्नुपर्ने बताए । पुनर्निर्माण प्रधानमन्त्री सहायता कोष खोल्नुपर्ने उनले बताए ।

वर्तमान सरकारको प्रमुख कार्यभार निर्वाचान रहेको उनको भनाइ छ । यो सरकारबाट ठूला–ठूला आशा गर्न नसकिने उनले बताए । यसले जगमात्रै बसाल्ने र केही सुधारको मार्ग देखाउनेमात्रै उनले बताए ।