पेरिसडाँडाको भग्नावशेषमा उभिएर प्रचण्डको उद्घोषः ‘नयाँ र भव्य पार्टी कार्यालय बनाइनेछ’ (फोटोफिचर)


काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उनले जलेर भग्नावशेषमा परिणत भएका संरचनाहरुको निरीक्षण गरेका हुन् । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आगजनी भएको थियो ।

आगजनीबाट ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालय अवलोकनपछि अध्यक्ष प्रचण्डले नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताए। ‘क्षति त पुर्‍याइयो, पुग्यो । तर, अब म के भन्न चाहन्छु भने– सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यको सहयोगमा पार्टीको नयाँ कार्यालय भवन बनाइनेछ।’