प्रधानमन्त्री कार्कीलाई माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भनेः घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्नुस्, एक दिन पनि धकेल्न मिल्दैन


काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमा नै आम निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री कार्कीले बीबीसी नेपाली सेवालाई लिएको अन्तर्वार्ताको विषयलाई लिएर नेता श्रेष्ठले निर्वाचनको मिति एक दिन पनि पर धकेल्नु घातक हुने बताएका छन् ।

‘तपाईंले बीबीसी नेपाली सेवालाई दिनुभएको अन्तर्वार्तामा निर्वाचन सम्पन्न गर्ने अवधि १५ दिन, २ महिना थप पनि हुन सक्छ भन्नुभएको छ ।तपाईंलाई त्यो कार्यादेश छैन । निर्वाचन मिति १ दिन पनि पर धकेल्न मिल्दैन । तपाईंले अहिलेदेखि त्यसरी सोच्नु र सार्वजनिक समेत गर्नु घातक साबित हुन सक्छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश गम्भीर सङ्कटमा धकेलिन सक्छ भन्ने कुरामा ध्यान दिनुहोस ।अन्यथा सोच्न, गर्न मिल्दैन,’– उनले भनेका छन् ।

उनले अहिले मुलुकको केन्द्रीय कार्यभार घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्नु रहेको पनि स्मरण गराएका छन् । अन्तरिम सरकारलाई त्यस उद्देश्यका निम्ति सफल पार्न सबैले सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गर्दै उनले आफूहरु त्यसमा प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीजस्तो जिम्मेवारीमा भएको व्यक्तिले के बोल्ने, के नबोल्ने भन्ने कुरामा गम्भीर ध्यान दिन पनि उनले सुझाव दिएका छन् । कम बोल्न, काममा केन्द्रित हुन, बोल्नै पर्दा पनि गलत नबोल्न उनले आग्रह गरेका छन् ।

बीबीसीसँगको अन्तर्वार्तामा कार्कीले प्रधानमन्त्रीले पालना गर्नुपर्ने आचारसंहिता पनि उल्लंघन गरेको उनको ठहर छ । देशलाई बचाउन, संविधान र लोकतन्त्रको रक्षा गर्न घोषित मिति फागुन २१ मा शान्तिपूर्ण, स्वच्छ एवं निष्पक्ष निर्वाचन गर्नेगरी अगाडि बढ्न उनले सुझाव दिएका छन् । प्रधानमन्त्री र सरकार नै यस सम्बन्धमा सबभन्दा बढी स्पष्ट, दृढ र गम्भीर हुनुपर्ने आवश्यकता नेता श्रेष्ठले औंल्याएका छन् । समयमै निर्वाचन सम्पन्न गर्ने कार्यबाट विचलित भएर राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रलाई कमजोर पार्ने कार्य भएको खण्डमा त्यो ठूलो दुर्भाग्य हुने उनको चेतावनी छ ।