काठमाडौं, १ असोज । अधिवक्ता स्वागत नेपालले जेन–जी पुस्ताको रगतमा पौडी खेलेर सुशीला कार्की प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री कार्कीलगायतले जेन–जी पुस्ताको रगतलाई पानी बनाइदिएको बताए । जेन–जी पुस्ताका जे–जे मागहरु थिए, ती सबै पूरा नगर्ने शर्तमा अहिलेको सरकार बनेको उनको टिप्पणी छ ।
‘जेन–जी पुस्ताको रगतमा पौडी खेलेर प्रधानमन्त्री, मन्त्रीमा पुग्नुभयो । तर, जेन–जी पुस्ताको सबै मागहरुलाई, उहाँहरुको रगतलाई पानी बनाइदिनुभयो । जे–जे माग थियो, सबै माग पूरा नगर्ने उहाँहरुले सहमति गरिसक्नुभयो,’– उनले भने ।
जेन–जी पुस्ताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजीलगायतको माग अगाडि सारेको भए पनि प्रधानमन्त्री कार्कीले अब आउने फागुन २१ गते सांसदले नै प्रधानमन्त्री चुन्ने चुनाव गराउन लागेको उनले बताए । ‘जेन–जी पुस्ताले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई भोट हाल्ने भनेका थिए । तर, जनताबाट प्रत्यक्ष प्रधानमन्त्री नचुन्ने, पहिला सांसद चु्न्ने, सांसदले नै प्रधानमन्त्री चुन्ने भन्ने सहमति भएर अब आउने चुनाव जेन–जीको मागविपरीत छ । यो फागुन २१ को चुनाव जनताले प्रधानमन्त्री चुन्न पाउने माग थियो,’– उनले भने ।
अधिवक्ता नेपालले जेन–जी पुस्तालाई अब आउने निर्वाचनमा सहभागी नहुन र यो निर्वाचन हुन पनि नदिन आग्रह गरे । उनले भने, ‘जेन–जी साथीहरुले सबैले बुझ्नुस् । अहिलेको निर्वाचन तपाईँहरुले माग गरेबमोजिम हुँदै छैन । त्यसैले यो निर्वाचनमा सहभागी पनि नहुनुस् । यो निर्वाचन हुन पनि नदिनुस् ।’




प्रतिक्रिया