काठमाडौं, १ असोज । नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जेन–जी आन्दोलनमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । जेन जी आन्दोलनका मागहरुप्रति आफ्नो पार्टीले आन्दोलनपूर्व नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको स्मरण गराएका छन् ।
आज शोक दिवसको शोक वक्तव्य जारी गर्दै उनले जेनजीका जायज मागलाई समयमा सम्बोधन गर्नुको सट्टा तात्कालिन सत्ताधारीहरुले देखाएको दम्भ र अहंकारको कारण दर्जनौं होनाहार युवाहरुल्े शाहदत प्राप्त गर्नुपरेको दाबी गरेका छन् । नेपालको वक्तव्यमा भनिएको छ,‘युवा पुस्ताको अगुवाईमा भएको उक्त आन्दोलन लोकतान्त्रिक गण्तन्त्र प्राप्ति पछि पनि जनताको चाहना र भावनाअनुरुप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा जनतामा उत्पन्न निराशा र आक्रोशको परिणाम हो भन्ने कुरालाई स्वीकार गर्नुपर्दछ ।’
अहिले युवा पुस्ताको आन्दोलनले उठाएका एजेण्डाहरुको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको स्मरण गराउँदै नेपालले भने,‘निर्वाचनको मिति समेत घोषणा भएको छ । अतः विना कुनै पूर्वाग्रह इतिहासका कमजोरीहरुको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासन कायम र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्ने एवम् युवा पुस्तालाई मुलुकमै बस्नलायक अवसर तथा वातावरण निर्माण सकेमा मात्र पछिल्लो जेन जी आन्दोलनमा शाहदत प्राप्त गर्नेहरुप्रति साँचो श्रद्धाञ्जली हुनेछ । यसका लागि युवा पुस्तासँगै सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज, राज्य तथा निजी क्षेत्रलगायत समाजका विभिन्न अंगसँग हातेमालो एवम् सहकार्य गर्न हामी सदैव तयार छौं ।’





प्रतिक्रिया