काठमाडौं, १ असोज । अधिवक्ता स्वागत नेपालले जेन–जी पुस्ताले आसन्न प्रतिनिधिसभाको निर्वान हुन दिन नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जी पुस्ताको आन्दोलनमा धोखा भएकाले अब निर्वाचनमा सहभागी हुनन नहुने बताएका हुन् । अधिवक्ता नेपालले जेन–जीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा आवाज उठाएको भए पनि अहिलेको नेतृत्वले उक्त मागलाई कुल्चिएको उनको आरोप छ । ‘यो निर्वाचन हुन दिन हुँदैन । किन डराउनु भयो उहाँहरु र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउन चाहनुभएन,’– उनले भने ।
उनले सुशीला कार्की र अरु वकिलहरुले युवाहरुको रगतलाई पानी सम्झिएर प्रधानमन्त्री र मन्त्री ताकेको उनको आरोप छ । पूर्व प्रधानन्यायाधीश र वकिलहरुले पदका लागि सांसद खरिद–विक्री गर्ने व्यवस्थालाई नै निरन्तरता दिने प्रपञ्च गरेको उनले बताए । अधिवक्ता नेपालले भने, ‘युवाहरुले यो चुनाव नै हुन दिँदैनन् । किनभने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्छ । नभए हुन दिँदैनन् । युवाको रगत पानी बनाएर पिउने, अनि प्रधानमन्त्री र मन्त्री ताक्ने ? पूर्व न्यायाधीश र वकिलहरुको सांसद खरिद–विक्री गर्ने व्यवस्था अझै राख्ने प्रपञ्च हो कि होइन ? यस्तो सल्लाह दिने ?’
अधिवक्ता नेपालले जेन–जी पुस्तालाई अब आउने निर्वाचनमा सहभागी नहुन र यो निर्वाचन हुन पनि नदिन आग्रह गरे । उनले भने, ‘जेन–जी साथीहरुले सबैले बुझ्नुस्– अहिलेको निर्वाचन तपाईँहरुले माग गरेबमोजिम हुँदै छैन । त्यसैले यो निर्वाचनमा सहभागी पनि नहुनुस् । यो निर्वाचन हुन पनि नदिनुस् ।’
साथै, उनले अब देशभरी राजसंस्थाको पक्षमा बहुमत बन्दै गएको पनि उनले बताए । राजा कसैले गरेको आन्दोलनलाई हाइज्याक गरेर नेतृत्वमा नआउने उनको भनाइ छ । पत्रकार सम्मेलन गरेर हाँस्दै हाँस्दै गएका राजा आउँदाखेरी झुक्याएर नआउने उनले बताए । ‘अब देशैभरीको सबैको बहुमत राजसंस्थाको पक्षमा आउँदैछ । राजा भनेको राजा जसरी आउने हो । अरुले गर्दैगरेको आन्दोलनमा गएर षड्यन्त्र गरेर, ओली, देउवाहरुले छिर्के लगाएजस्तो गरेर छिर्के लाउने होइन । जनताले बोलाएर स–सम्मान आउने हो । दरबार छोड्दाखेरी त पूरा हाँसीहाँसी पत्रकार सम्मेलन गरेर छोड्ने । आउँदाखेरी झुक्याएर आउँछ ? सिधा आउने हो,’– उनले भने ।




प्रतिक्रिया